(१) ऐनको दफा १२ बमोजिम कुनै व्यक्तिले सम्पत्ति कर अधिकृत छेउ सूचना दिएकोमा सम्पत्ति कर अधिकृतको सूचना अनुसार वा आफै उपस्थित हुन आएमा सम्पत्ति कर अधिकृतले सनाखत गरी निजसंग रहेको सबूद प्रमाण सबै बुझ्नेछ । निज उपस्थित हुन नआएमा सम्पत्ति कर अधिकृतले आफ्नो मातहतको सम्पत्ति कर इन्सपेक्टरद्वारा बुझन लगाउन सक्नेछ । यसरी बुझि आएको व्यहोराबाट कारबाई चलाउन पर्ने भन्ने सम्पत्ति कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक करबाई चलाउने छ । कारबाई चलाउनलाई पर्याप्त सबूद प्रमाण छैन भन्ने लागेमा छोटकरीमा आफ्नो ठहर व्यक्त गरी आफ्नो कार्यालयमा रेकर्ड राख्नुपर्छ ।
(२) उप-नियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असूल उपर भएमा ऐन बमोजिम पाउने इनाम दिनालाई सम्पत्ति कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत् प्रतिवेदन पेश गर्नेछ ।
(३) कुनै व्यक्तिले एक पटक सूचनासम्म दिई पछि बोलाएको बखत सम्पत्ति कर अधिकृत कहाँ उपस्थित हुन आएन वा कुनै सबूद प्रमाण पनि पेश गरेन भने सो सूचना पूरा भएको मानिने छैन र त्यस्तो व्यक्ति इनामको भागी हुने छैन ।